धनकुटा, २३ पुस । राष्ट्रपति डा. रामवरण यादवले तोकिएको समयमै संविधान जारी गर्न दलहरु सफल हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।
धनकुटामा आज पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति यादवले तोकिएको समयमै संविधान जारी गर्न दलहरुले पछिल्लो समय देखाएको सक्रियता प्रशंसायोग्य रहेको बताउनुभयो ।
हिमाल, पहाड र तराईका सबै जनताको अधिकार समेटिने किसिमको संविधान जारी गर्न दलहरुलाई राष्ट्रपति यादवले आग्रह पनि दिनुभयो ।
उहाँले तोकिएको समयमै संविधान जारी गर्ने भनी जनतासँग गरेका बाचा पूरा गर्न दलहरुलाई एकजुट हुन सुझाव दिनुभयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले उपलब्धिविहीन राजनीतिक स्थिरताले जनतामा निराशा बढाएको बताउनुभयो ।
त्यस्तै, सिँचाइमन्त्री एनपी साउदले जलस्रोतमा लगानी बढाउन सके देशको आर्थिक स्थिति मजबुत बन्ने धारणा राख्नुभयो ।
सो अवसरमा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले धनकुटालाई प्रान्तीय राज्यको राजधानी बनाउन आफू सक्रियताका साथ लाग्ने वचनबद्धता प्रकट गर्नुभयो ।
उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष लालचन्द्र गोम्बाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धनकुटाबाट संविधानसभामा प्रतिनिधित्व गर्नुहुने संभासद्हरु टीकाराम चेम्जोङ, मनोहरनारायण श्रेष्ठ, धनमाया बिकलगायतले पनि हरेक हिसाबले उपयुक्त रहेकाले धनकुटालाई नै प्रान्तीय राजधानी बनाउनुपर्ने धारण राख्नुभएको थियो ।