बुटवल, २३ पुस । सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गतको कारागार अवलोकन, अध्ययन तथा निरीक्षण कार्यदलले आज रुपन्देही जिल्ला कारागार भैरहवाको निरीक्षण गरेको छ ।
उक्त समितिका संयोजक सभासद् पञ्चकर्ण राईको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले कारागारको अवलोकन तथा निरीक्षण गरेको हो ।
सो अवसरमा समितिले कारागारमा रहेका कैदीबन्दीहरुसँग समेत छलफल गरेको थियो ।
समितिसमक्ष कैदीबन्दीहरुले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुत्न बस्न समस्या भएको गुनासो गरेका थिए । एक सयजनाको क्षमता रहेको भैरहवा कारागारमा हाल ३६७ जना बस्दै आएका छन् ।
त्यस्तै, कैदीबन्दीहरुले आफूहरुलाई दिँदै आएको सिधा बापतको रकम बढाउनुपर्ने र जरिवाना छुट रकमसमेत बढाउनुपर्ने बताएका थिए । कारागारका कैदीबन्दीहरुले प्रतिदिन सिधा बापत रु ४५ र सात सय ग्राम चामल पाउने गरेका छन् ।
समितिका संयोजक राईले आफूहरुले देशभरका कारागारको अनुगमन गर्ने र सबैतिरबाट प्राप्त सुझावका आधारमा कारागारको सुधार र स्तरोन्नतिका लागि सरकारलाई सुझाव दिने बताउनुभयो ।